दमक, २५ कार्तिक–किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ।

१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत ९पैसा लिन नहुने०, पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्।

फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरे। त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो। किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो।

किरात समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाइन्छ। यो अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *