फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, ३० कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालै सम्पन्न १०औं महाधिवेशनपछि पार्टीको गतिविधिहरु बढेको बताउनु भएको छ।

काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गर्नुभयो।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले दशौँ महाधिवेशनपछि पार्टीको कोशी प्रदेशले उदयपुरमा, रौतहतमा, धनुसामा वृहत कार्यक्रम गरेको स्मरण गर्दै पार्टीको गती थप बढेको बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, ‘निराशाका कुरा गर्ने होइन, हाम्रो पार्टीको गति बढेको छ।

कोशी प्रदेशको उदयपुरमा, मधेश प्रदेशको रौतहटमा, धनुसामा हजारौंको संख्यामा पार्टी प्रवेश गराएर कार्यक्रम सम्पन्न भएका छन्। हालै कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। जो सानदार रुपमा सम्पन्न भएको छ। यसरी हेर्दा पार्टीको गति निरन्तर बढीरहेको छ।’

उहाँले नेपालको परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। ‘यो मुलुकमा कसैले काम गरेको छ भने हामीले गरेका छौ, गणतन्त्र कसैले ल्याएका छौ भने हामीले ल्याएका छौँ। गणतन्त्र नेपालमा आउँदैन भन्नेहरू पनि यही पार्टीभित्र थिए’, अध्यक्ष नेपालले भने, ‘गीत गाएर मात्र होइन,विरोध नै गरेर हिँडेका थिए।’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र ल्याउने र राजतन्त्र हटाउने सवालमा उत्साह बढाउने नभई घटाउने काम गरेको बताउनुभयो।

‘हामीले टेरेनौ, वास्ता गरेनौं। हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरू बसिरहन्छन्, थन्किन्छन्। बस्नेलाई बस्न देऊ, जानेलाई जान देऊ भन्यौ र हिँडिरह्यौँ, उहाँले राजतन्त्रको विरुद्ध बोल्न अरु पार्टीले पनि हिम्मत नगरेको बताउनुभयो।

‘काँग्रेसले पनि खुट्टा कमायो। बेबी किङ भन्न थाल्यो र हामीले एक्लै आँट गर्‍यौँ, परिवर्तनलाई साकार पार्यौं’, उहाँले भन्नुभयो। अध्यक्ष नेपालले संविधान निर्माणका सन्दर्भमा पनि त्यस्तै अवस्था रहेको बताउनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *