काठमाडौँ, १ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्न आह्वान गरेका छन्।

बौद्ध विहार सङ्घ, ललितपुरको आज अक्षेश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्मनिरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थानुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार गर्न नसकिने दोहोर्‍याए।

​प्रधानमन्त्रीले धार्मिक सहिष्णुता कायम गर्दै अहिंसा, शान्ति र एकताका साथ धार्मिक अभ्यास गर्नुपर्ने बताउँदै भने, ‘बुद्ध धर्म र उहाँका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन। बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो। कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो। बुद्ध धर्मका शिष्यहरू नै यस धर्मका रक्षक हुन्। हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ। त्यसका लागि म मेरा तर्फबाट सक्दो काम गर्छु। यस धर्ममा करुणा, स्नेह र मानवीयता छ। निःस्वार्थपन छ। त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निधेष गर्नुपर्छ।’

पाँच वर्षअघि भियतनाममा भएको अन्ताराष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र त्यस्ता सम्मेलन संयुक्त राष्ट्रसङ्घको आयोजनामा नेपालमा गर्ने कुराकानी भएका वेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्ताराष्ट्रिय ध्यानकेन्द्र निर्माण गराएको स्मरण गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुबहादुर बज्राचार्यलाई सम्मान गरे। बौद्ध विहार सङ्घ ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सृजना गरेको सम्पदाले पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान दिएको बताए। बौद्ध विहार सङ्घको स्थापना २०३२ साल मङ्सिर १ गते भएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *