काठमाडौं, ५ मंसिर–स्पेनिस स्टार राफेल नाडालले टेनिसबाट सन्यास लिएका छन्। मंगलबार डेविस कपको क्वाटरफाइनलमा नेदरल्याण्डका बोटिक भ्यान डे जान्डस्चल्पसँग पराजित हुन पुगे। पराजित भएपछि उनले भने– ‘मैले डेभिस कपमा मेरो पहिलो खेल हारे, र मैले मेरो अन्तिम खेल हारे’, नाडालले भने।
पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छन्। २२ ग्राण्डस्लाम जितेका नाडालले खेलपछि आफुले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका छन्। नाडालले टेनिसमा उनका प्रतिद्वन्द्वी नोभाक जोकोभिकपछि दोस्रो धेरै ग्राण्ड सलाम जितेका छन्।
उनले फ्रेन्च ओपनको उपाधि रेकर्ड १४ पटक जितेका छन्। त्यस्तै उनले चार पटक युएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन २–२ पटक जितेका छन् । त्यस्तै उनले ओलापिकमा सिंगल र डबल स्वर्ण पटक समेत जितेका छन्।
सन्यास अघि वर्षौंसम्म नाडालविरुद्ध खेलेका रोजर फेडेररले उनको लागि भावनात्मक सन्देश दिएका छन्। नाडालका प्रतिद्वन्द्वी फेडेररले नाडालले आफुलाई टेनिसमा थप रमाइलो बनाएको बताएका छन्।
४० खेल र १५ वर्षसम्म चलेको यी दुईबीचको प्रतिद्वन्द्वी टेनिस फ्यानका लागि आकर्षणको केन्द्र बनेको फेडेररले बताएका छन्। नडालको जन्म सन् १९८६ को जुनमा मार्लोका टापुमा भएको थियो। उनका बुवा सेवास्टिन व्यापारी थिए भने आमा एनाले सन्तान हुर्काउन बाहिरी काम नै छाडिन्। नाडाल १४ वर्षकै उमेरमा व्यावसायिक खेलाडी बनेका थिए। सन् २००३ मा १७ वर्षका हुँदा विम्बल्डनमा डेब्यु गरे।
१८ वर्षको हुँदा उनी त्यही टेनिस टिमका सदस्य थिए, जसले डेभिस कप जितेको थियो । फाइनलको एक एकल खेलमा नडाल विजयी रहेका थिए। सन् २००५ मा उनले पहिलो ठूलो उपाधिका रूपमा फ्रेन्च ओपन जिते। त्यसको १७ वर्षपछि उनले अन्तिम पटक रोलान्ड ग्यारोसमा उपाधि जिते र यो उनको १४ औं फ्रेन्च ओपन रह्यो। नाडालले कुल ९२ उपाधि जिते।
त्यतिमात्र होइन, उनी दुईपल्टका ओलम्पिक स्वर्ण विजेता हुन्।
