महोत्तरी, ६ मंसिर–यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स ९युएई० मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।

काठमाडौं हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए ।

यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो । नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु–१९ महिला टी–२० एसिया कप र विश्वकपको शुभकामना दिएका थिए ।

गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरेका छन् ।

विशेष रुपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो । शोभायात्रामा गौशाला–२ घर भएका सांसद लक्ष्मी महतो कोइरी, गौशाला नगर प्रमुख डा। दिपेन्द्र महतोसहित जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारण सहभागी थिए ।

मङ्गलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगर प्रमुख डा। दिपेन्द्र महतोले पूजालाई एक लाख ५१ हजार प्रदान गरेका थिए । उनलाई मङ्गलबार नै मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए ।

‘प्रदेश सरकार खेलाडीहरुका साथमा छ, मधेश सरकार खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहनेछ’, मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने । बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम देखिन्थ्यो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकहरुको टोलीले उनको घरमै पुगेर रु ११ हजार पुरस्कार प्रदान गरेको थियो ।

‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष्य हो’,, पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन् । ‘अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ’, पूजा भन्छिन, ‘सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।’

पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुशी छन् । ‘पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन्’, उनले भने । रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *