दमक, ५ मंसिर–दमक–१ फाल्गुनन्द चौक नजिकै मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) दमकमा १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

दमकस्थित पशुपति सेवा सदनमा भब्य समारोहको आयोजना गरेर फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरीय इकाइगत साधारण सभापछि आज माइन्यूट प्रमाणिकरणसहित विभिन्न विषयतर्फ पुरस्कृत गरी बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष पदम लिम्बू (लिङदेन) संकल्पको अध्यक्ष्तामा र जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष लिङदेनले प्रतिवेदनबारे थप प्रष्ट्याउँदै संस्थाले बिषम आर्थिक परिस्थिती र सहकारी क्षेत्रमा आएका जटिलताहरुलाई पार गर्दै संस्थाका शेयर सदस्यहरुमाझ सहज रुपमा विश्वसनिय कारोबार गरिआएको उल्लेख गरे ।

सासानो पुँजी संकलन र ससाना कर्जा लगानीलाई प्राथमिकता दिएको संस्थाले सबै कर्जा धितो मुल्याङकनका आधारमा उपलब्ध गराउने र ५ लाख भन्दा माथिको कर्जा लगानीमा धितोको अनिवार्य प्राविधिक मुल्याङकन गरिने , कर्जा बीमा अनिवार्य गरिने जस्ता नीति लिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सो संस्थामा हाल २ हजार ३ सय ७५ जना शेयर सदस्य रहेकोमा महिलाको संख्या १ हजार २ सय ३५ रहेको र कूल शेयर पुँजी ३ करोड ८६ लाख ७६ हजार ७०० रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको कोष हिसाब २ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ भने यसले झापा जिल्लाका अतिरिक्त इलामको चुलाचुली गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकामा समेत कारोबार गर्दै आएको छ ।

२३ करोडको वासलात प्रस्तुत गरिएको प्रतिवेदनमा १९ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको तथ्याङक प्रस्तुत गरिएको छ । सो प्रतिवेदन यसअघि २१ कार्तिकमा संस्थाले पत्रकार सम्मेलन मार्फत पहिलो पटक सार्वजनिक गरेको थियो भने अलग अलग मितिमा सबै सेवा केन्द्रहरुमा इकाइगत रुपमा शेयर सदस्यहरुमाझ छलफल गरेर पारित गर्दै आज सोको प्रमाणिकरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिलिप जवेगुले जानकारी दिए ।

संस्थाले १६ बर्षे बाल बचत कार्यक्रमसहित आवधिक बचतका कार्यक्रमहरुलाई प्राथमिकतापूर्वक अघि बढाउने नीति लिएको पनि प्रमुख कार्यकारी अधिकृत जवेगुले उल्लेख गरे । शेयर सदस्यहरुलाई १० हजार देखि २५ हजार सम्म औषधि उपचार खर्च दिने, स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने कर्जा लगानी गर्ने नीति संस्थाले लिएको छ ।

उनले संस्थाका सेयर सदस्यहरुको ब्लड ग्रुपका आधारमा ग्रुप पहिचान गरि शेयर सदस्यहरुको छुट्टै ब्लड बैंक स्थापना गर्ने नयाँ कार्यक्रम ल्याइएको पनि जानकारी दिए ।

सो कार्यक्रममा दमक नगरपालिका वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष फुलकुमारी आङदेम्बेले स्वागत मन्तव्य राखेकी थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *