झलनाथ खनाल

काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिशिएटिभ) परियोजना अन्तर्गत ऋण लिनै नहुने सत्तारुढ दल कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

आज (सोमबार) आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत ऋण लिनु हुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए । उनले सो परियोजना विश्वका दुईतिहाइ मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपाल जस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि बताएका छन् ।

सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनै पनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाइ थियो । उनले भने, ‘बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री ९सार्वभौम राष्ट्र० हो नि । कुन प्रोजेक्टमा हामी अनुदान लिनसक्छौं, कुन प्रोजेक्टमा हामी लोन लिनसक्छौं त्यो नेगोशिएशनमा भर पर्छ । कुन प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौं, नेगोशिएशनमा भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरूसँग, विदेशहरूसँग सम्बन्ध राख्नु पर्छ । र बीआरआईबाट हामीले लोन चाहिँ लिनै हुँदैन भन्ने खालको जुन कुराहरू आएको छ, यो पूर्वागहपूर्ण कुराहरू मात्रै हो ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *