दमक, १९ मंसिर । बिगतका बर्षहरुझै यस वर्ष पनि झापाको दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुले ख्रीष्टमस बिशेष कार्यक्रमहरुका साथ मनाउने भएका छन् ।
दमकमा छरिएर बसोबास गर्ने इसाई धर्मावलम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजको आयोजना र इसाई समाजसंग आबद्ध चर्च (मण्डली) हरुको सहयोगमा पुष ७ गते, आइतबार दमकमा ख्रीष्टमस मनाउने भएका हुन् ।
ख्रीष्टमसको अवसरमा बिहान दमकमा वहत शान्ति, सद्भाव, मित्रता र प्रेममय र्याली निकालिने भएको छ । र्याली गंगानगरीबाट सुरु भएर दमकको मुख्य चौक, गणतन्त्र चौक, जेसिज चौक, थाना लाइन नमूना मार्गबाट हाट खोला हुँदै नगरपालिकाको कार्यालय परिसरहुँदै मामा चोक हुँदै गंगा नगरीसम्म आइपुग्ने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले जानकारी दिनुभयो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा बुधबार पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।
दमकस्थित गंगा नगरीको खुल्ला मैदानमा हुने ख्रीष्टमस कार्यक्रमलाई भब्य बनाइने भएको आज दमकमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी गराएको छ ।
ख्रीष्टमस कार्यक्रम संयोजक पाष्टर कुमार तामाङले कार्यक्रमको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । वहाँले कार्यक्रम बिशुद्ध धार्मीक तथा साँस्कृतिक भएको बताउनुभयो ।
पुष ७ गते, आइतबार दमकमा संयुक्त कार्यक्रमका साथ मनाइने र शुभकामना आदनप्रदान, आशिषमय प्रवचन र मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमका साथ मनाइने पाष्टर कुमार तामाङले जानकारी गराउनुभयो ।
दमकमा झण्डै ४० को हाराहारीमा चर्चहरु छन् । दमक नगर इसाई समाज अन्तर्गत आमा दिदीबहिनी उपसमिति, युवा संगती उपसमिति, प्रशासनिक उपसमिति, समाजिक उपसमिति, बिपद् व्यवस्थापन उपसमिति, खेलकुद उपसमिति, प्रचारप्रसार उपसमिति, स्वयसेवक उपसमितिहरु क्रियाशिल छन् ।
सो पत्रकार भेटघाटमा इसाई समाजका निवर्तमान अध्यक्षसमेत रहनुभएका सामाजिक विभाग प्रमुख पाष्टर आकाश थुलुङ राईले दमकमा आयोजना गरिदैं आएको ख्रीष्टमस कार्यक्रमलाई बिशेष अर्थपूर्णको रुपमा हेरिन्नुपर्नेमा जोडदिनुभयो ।
वहाँका अनुसार कार्यक्रमको उद्घाटनका लागि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा आउनुहुने तथारी भइरहेको छ । नगर प्रमुख थापा सहित दमकमा सामाजिक संघसंस्था, सरकारी कार्यलय, छिमेकी गाउँ तथा नगरलाई आमन्त्रण गरिएको पाष्टर राईले जानकारी गराउनुभयो ।
कार्यक्रममा धरानका पाष्टर हिमाल जोसेफ राईको आशिषमय प्रवचन हुने छ भने दमकका स्थानीय चर्च तथा मण्डलीहरुका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तत गरेर मनोरञ्जन प्रदान गरिने भएको छ ।
त्यस्तैं, सो पत्रकार भेटघाटमा इसाई समाज दमकका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक राजकुमार नाछिरिङ राईले बाइबाल धर्मशास्त्र र ख्रीष्टमसको बारेमा चर्चा गर्नुभएको थियो । वहाँले दमकमा हुने ख्रीष्टमस कार्यक्रमबाट समाजमा सकारात्मक शन्देश फैलाउन सफल हुने जानकारी गराउनुभएको थियो ।
शैक्षिक व्याक्तित्व तथा बिपद् व्यवस्थापन उपसमितिका संयोजक पाष्टर युवराज गजमेरले ख्रीष्टमसलाई इसाई धर्मावलम्बीहरुले बिशेष अर्थका रुपमा ल्याउन सुझाए ।
दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर रामप्रसाद राईले सञ्चालन गर्नुभएको पत्रकार भेटघाटमा युवा संगतीतर्फ उपसमितिका संयोजक एल्डर सुरज लिम्बूसहित दमकमा क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।
