दमक, ७ पुस–इसाई धर्मावलम्बीहरुको पवित्र पर्व ख्रीष्टमसको अवसरमा आज झापाको दमकमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
दमक नगर इसाई समाजले गंगा नगरीस्थित गोर्खा डिर्पाटमेन्टको खुल्ला प्राङ्गणमा दमकका इसाई धर्मावलम्वीहरुले संयुक्त रुपमा ख्रीष्टमस मनाइएको हो ।
यसअघि, आजै बिहान दमक नगर इसाई समाजले प्रभु येशु ख्रीष्टको जन्मदिन अर्थात बडादिनको अवसर पारेर दमकमा शान्ति र सद्भावसहितको र्याली निकालिएको थियो । र्यालीले दमक नगरको विभिन्न चौक, बजार र सडकहरु पारगर्दै कार्यक्रमस्थल गंगानगरीस्थित गोर्खा डिर्पाटमेन्टको खुल्ला प्राङ्गणमा आइपुगेको दमक नगर इसाई समाजका सहसचिव पाष्टर राम राईले जानकारी दिनुभयो ।
ख्रीष्टमस शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको भब्य समारोहबीच धरानस्थित ईम्मानुयल कृपा चर्चका पाष्टर हिमाल जोसेफ राईले प्रवचन गर्नुभएको थियो । पाष्टर जोसेफले बाइबल धर्मशास्त्र र येशु ख्रीष्टको बारेमा रोचक र चेतनामुलक प्रवचन गर्नुहुँदैं इसाइ धर्मावलम्बीहरुले डिसेम्बर २५ मा येशु ख्रीष्ट जन्मेको विश्वास गर्दै ख्रीष्टमस पर्व मनाउने गरेको बताउनुभयो ।
वहाँले बाइबल धर्मशास्त्र संसारमा सवै भन्दा धेरैले अध्ययन गर्ने र धेरै संख्यामा प्रकाशित पुस्तक भएको बताउनुभयो । वहाँका अनुसार १६ सय बर्षमा ४० जना बढी विभिन्न व्याक्तिहरुले तयार पारिएको धर्मशास्त्र नै बाइबल हो, पाष्टर जोसेफले भन्नुभयो ।
वहाँका अनुसार बाइबल लेखन र बाइबल रचियता गर्नेहरुबीच न चिनजानै थियो, न त उनीहरु एउटै पेशा वा व्यवसाय गर्नेहरु थिए । संसारका विभिन्न मुलुकहरुमा बसोबास गर्नेहरुले रच्नुभएको बाइबल आज विश्वमा सवै भन्दा भाषाभाषीहरुमा प्रकाशित छ ।
पाष्टर जोसेफले इसाईहरुले मात्रै नभएर विश्वका सवै धर्मप्रति आस्था र विश्वास गर्नेहरुले पाप र पुष्यको विषयहरु उठाउने गरेको बताउनुभयो । वहाँले संसारका सवै मानवले पुष्य वा असल काम मात्रै गर्दैनन्, केही न केही भएका खराब कार्यको माफीका लागि वा क्षमा दानका लागि बाइबल धर्मशास्त्रले स्पष्ट व्याख्या गरेको चर्चा गर्नुभयो ।
पाष्टर जोसेफले सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको बताउनुभयो । पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसंग मिलापमा (शान्ति) आउने तर्क गर्नुभयो ।
त्यस्तैं, कार्यक्रमका प्रमुख अतिथी दमक नगर प्रमुख रामकुमार थापाले बाइबल धर्मशास्त्रले समाज रुपान्तरण गर्न र जीवनपयोगी महत्वपूर्ण शन्देसहरु दिएको भन्दैं प्रशंषा व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले दमकवासीहरुको शान्ति, सुरक्षा, अमन चयन, व्यवस्थित नगर, सम्मुन्त शहर, नगरभित्रका सवै जातजाती, भाषाभाषी, धम, संस्कृतिको सम्मान र जर्गेनाका लागि गर्नुपर्ने नगरपालिकाको दायित्वमा क्नै प्रकारको बिभेद नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । म नगर प्रमुखको हैसियतले मेरो कार्यकालभरी इसाई धर्मप्रति कुनै खाले बिभेद नगर्ने र बरु आवश्यक सहयोग गरिरहनेमा जोड दिनुभयो ।
त्यस्तैं, कोशी प्रदेश इसाई समाजका कोषाध्यक्ष एबम् पाष्टर संजिब कुलुङ राई र उर्लाबारी इसाई समाजका पाष्टर बिनोद धिमालले मानव जातिको मुक्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिन मनाउन र सुसमाचार सन्देशलाई अझ धेरे प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षता र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । सो समारोहमा कार्यक्रम संयोजक पाष्टर कुमार तामाङले शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।
कार्यक्रममा दमक नगर इसाई समाजको तर्फबाट स्वागत गीत र स्वागत नृत्य प्रस्तुत गरिएको थियो । युवा बिभाग संयोजक एल्डर सुरज लिम्बूसहितको कलाकारहरुको टीमले साँस्कृतिक तथा साँगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा दमक नगरकै पुराना तथा अग्रज इसाई व्याक्तित्व तथा सल्लाहकार रेभरेन एनडी थुलुङ, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर किशोर सुनुवार, पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राई, बिसिएफ अध्यक्ष पाष्टर चन्द्र राई, ख्रीष्टीय समाज उर्लाबारीका अध्यक्ष पाष्टर याम लावती, पथरीशनिश्चरे इसाई समाजका अध्यक्ष पाष्टर गोपाल राई, चुलाचुली इसाई समाजका अध्यक्ष पाष्टर गम्भीर राई, बिसि एस अध्यक्ष पाष्टर कृष्ण बस्नेत, पाष्टर भिक्टोर सुनुवार, पाष्टर बीरबहादुर तामाङ, पाष्टर जीतबहादुर माझी, पाष्टर रबिन खड्का, पाष्टर दिपक राई (कमल, केर्खा), पाष्टर डिके बेघा लिम्बू, पाष्टर जोनाधन राई, पाष्टर राजकुमार राई, एल्डर सुरज लिम्बू, एल्डर पावल राई लगायतको उपस्थिति थियो ।
त्यस्तैं, दमक नगर इसाई समाज अन्तर्गत आदन बगैचा विभाग संयोजक पाष्टर मुक्ति किराँती थुलुङ राई, प्रशासन बिभाग संयोजक पाष्टर राजकुमार नाछिरिङ राई, सामाजिका समन्वय विभाग संयोजक पाष्टर आकाश थुलुङ राई, बिपद् व्यवस्थापन विभाग संयोजक पाष्टर युवराज गजमेर, आमा दिदीबहिनी विभागकी अध्यक्ष पारु राई, युवा विभाग संयोजक सुरज लिम्बू, खेल विभाग संयोजक शिखर राई र सुचना तथा संचार विभाग संयोजक पाष्टर डिकेन्द्र बस्नेत छन् ।
दमक नगर इसाई समाजद्धारा दमकमा आयोजित ख्रीष्टमस कार्यक्रममा धिमाल, राई, लिम्बू, नेवारी, तामाङ, शेर्पा, गुरुङ, थारु, सुनुवार जस्ता विभिन्न जातजातीहरुको मौलिक पहिरनमा सजिएका नरनारी र युवाहरुको उल्लेखिनिय सहभागिता थियो ।
कार्यक्रममा स्थानीय चर्च मण्डलीहरुले आ–आफ्ना नृत्य, गीत र भजनसहित सन्देशमूलक प्रस्तुतीहरुले सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाको तर्फबाट दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले प्रमुख अतिथिसहित अतिथीहरुलाई मायाको चीनो प्रदान गर्नुहुँदै ख्रीष्टमसको कार्यक्रममा सहभागिहरुलाई धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
