दमक, ८ पुस–दमक–४ ताराबारी चौक दक्षिण उदय टोलका स्थानीय इसाई धर्मावालम्वीहरुको सेवाकाईमा रहेको बेर्शेबा चर्चको नवनिर्मित भवनको आज समुद्घाटन गरिएको छ ।
प्रभु येशु ख्रीष्टको जन्मदिन ख्रीष्टमसको बिशेष अवसर पारेर सोमबार सो चर्चको समुद्घाटन गरिएको हो । नवनिर्मित बेर्शेबा चर्चमा आयोजित बिशेष र भब्य समारोहमा फ्रन्टियर मिनिस्ट्रीज अध्यक्ष रेभरेण्ड अजमन अब्राहमले रिवन काटेर सो चर्चको उद्घाटन गर्नुभएको थियो । यसअघि, सो चर्च सोही स्थानमा सञ्चालन हुँदैं आइरहेको र सो भवनलाई अन्य प्रयोजनका लागि लगाइने भएपछि नयाँ भवन बनाइएको हो ।
समारोहका प्रमुख बक्तासमेत रहनुभएका रेभरेण्ड अजमन अब्राहमले बाइबल धर्मशास्त्रलाई सत्य जीवनको अनुपम उपहार भएको बताउनुभयो । वहाँले प्रेम, समर्पण, असल, पवित्र जिम्मेवार र गतिशिल जीवन पाउनका लागि बाइबल शास्त्रका शुभ सन्देशहरु मानिसहरुबीचमा बाड्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यस्तैं, सोही समारोहमा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले सहभागिहरुलाई प्रोत्साहनका शब्दहरु राख्नुभएको थियो । पाष्टर सुब्बाले प्रभु येशु ख्रीष्टको जन्मदिनमा नेपालसहित संसारभरी खुशीयाली मनाइरहेको बताउनुभयो । वहाँ मान्छेको उद्धार र मुक्तिका लागि आउनुभयो, पाष्टर सुब्बाले भन्नुभयो–येशुको नजिक पुग्न, वहाँलाई स्पर्श गर्नका लागि बाइबल धर्मशास्त्रको विश्वास गर्न जरुरी छ ।
कार्यक्रममा बेर्शेबा चर्च नोपलका संयोजक पाष्टर अनिष अब्राहम, रन म्यूजिक नेपालका पाष्टर बिक्रम लिम्ब, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष, अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई लगायतको उपस्थिति थियो ।
त्यस्तैं, सो कार्यक्रममा पाष्टर प्रकाश सुन्दासले नेतृत्व गरेको साँस्कृतिक तथा सांगीतिक समुहले आराधनासहित ख्रीष्टमस गीतहरु प्रस्तुत गरेर सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
यता, सोही कार्यक्रममा भारतबाट आउनुभएका रेमा स्कुलका प्रिन्सिपल मेर्लिन अब्राहम र वहाँकी छोरी सेरिन अब्राहमले प्रभु येशु ख्रीष्टको महिमासहितको गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापनको अवसरमा पाष्टर भागलाल ताजपुरियाले प्रार्थना र आर्शिवाद बचन राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बेर्शेबा चर्च दमकका पाष्टर डिकेन्द्र बस्नेतले गर्नुभएको थियो ।
अन्त्यमा, कार्यक्रममा सहभागिहरुलाई मायाको चीनो प्रदान गर्नुका साथै प्रेम भोजनसमेत गराइएको थियो ।
