दमक, १० पुस–संविधानसभाकी सदस्य एबम् नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बुले समाजलाई सही बाटोमा हिंडाउन लोकतान्त्रिक पत्रकारहरुले सकारात्मक भुमिका खेल्न सक्ने बताएकी छिन् ।

समाजसँग जोडिने राजनीतिक दल र नेताहरुलाई समेत सहि ट्रयाकमा हिंडाउन पत्रकारहरुले योगदान दिनुपर्ने उनको भनाई छ ।

झापाको दमकमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित प्रेस युनियन सम्बद्ध पत्रकारहरुलाई बधाई शुभकामना तथा सम्मान अर्पण गर्न आयोजित कार्यक्रमकी प्रमुख अतिथी संविधान सभा सदस्य समेत रहेकी नेतृ लिम्बुले राजनीतिक, सामाजिक परिवर्तनका आन्दोलनहरु सफल बनाउन पत्रकारहरुले निर्वाह गरेको भुमिकाको प्रशंसा गरिन् ।

राजनीतिक आस्था र विचार व्यैक्तिक स्वतन्त्रताको कुरा भएको चर्चा गर्दै नेतृ लिम्बुले मिडियाकर्मीहरुले सत्य तथ्य , यथार्थ र विश्लेषणात्मक सामग्रीहरु प्रस्तुत गरेर जो कोहीका गलत कुराहरुको भण्डाफोर गर्नु र सचेत गराउनु आवश्यक भएको पनि उल्लेख गरिन् ।

नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु पौडेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी लिम्बुले पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचित अध्यक्ष एकराज गिरी, राष्ट्रिय परिषद सदस्यद्धय बिष्णु सुब्बा र लीला अनमोल, कार्यसमितिका सदस्यहरु देवेन्द्र प्रसाइँ, विनोद पाण्डे, कोशी प्रदेश परिषद सदस्यहरु वेनु अधिकारी, तुलसीप्रसाद निरौला, आत्मराम राजवंशी लगायतलाई ढाका टोपी र माला लगाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा निर्वाचन क्षेत्र खका सभापति रवि न्यौपाने (केसी), दमक नगर सभापति प्रकाश प्रसाइँ, नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष गिरिराज भट्टराई लगायतले पनि पत्रकारहरुले समाजको दर्पण बनेर राजनीतिक, सामाजिक अगुवाहरु, सिंगो राज्य संयन्त्रलाई खबरदारी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सशक्त भुमिका खेल्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचित अध्यक्ष एकराज गिरीले पत्रकारहरुका अगाडी अहिले पनि धेरै चुनौतीहरु रहेको बताउँदै चुनौतीकाबीच कर्तव्यनिष्ठ भएर पत्रकार आचारसंिहताभित्र रहेर कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष गिरीले प्रविधिले विश्वलाईनै साँघुरो बनाइरहेको र नागरिक पत्रकारिता बढिरहेको अहिलेको अवस्थामा पत्रकारहरुले आफूलाई परिमार्जित र परिस्कृत रुपमा प्रस्तुत गर्नुको विकल्प नरहेको बताए ।

महासंघ झापा शाखाले अघि सारेका दीर्घकालिन महत्वका केही योजना र कार्यक्रमहरुलाई फलदायी र प्रभावकारी बनाउन सिंगो कार्यसमितिको भुमिका महत्वपूर्ण हुने अध्यक्ष गिरीको भनाई छ ।

कार्यक्रममा प्रेस युनियन माइपश्चीम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *