काठमाडौँ, १४ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका दुई छुट्टाछुट्टै तस्वीर सामाजिक सञ्जालमा सेयर गरे। शनिबार मध्याह्नतिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेका थिएः ‘इतिहास हो तर धेरै पुरानो होइन।’
पहिलो तस्वीर चितवनको शक्तिखोरस्थित क्यान्टोनमेन्टको हो । जहाँ उनी शान्तिप्रक्रियाअन्तर्गत सेना समायोजनको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीको हैसियतमा क्यान्टोनमेन्टको अवलोकनमा सहभागी थिए। तस्वीरमा माओवादीका अध्यक्ष तथा माओवादी सेनाका सर्वोच्च कमान्डर प्रचण्ड तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि छन्।
दोस्रो तस्वीरमा उनी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग छन्। तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगमनविरूद्ध संसद् पुनः स्थापनाको माग गर्दै गरिएको आन्दोलनको क्रममा काठमाडौंको रत्नपार्कस्थित सडकमै सांकेतिक रूपमा संसद् बैठक सञ्चालन गरिएको थियो । त्यसबेला विघटित प्रतिनिधिसभाका उपसभामुख चित्रलेखा यादवले सडकमै सभामुखको भूमिकामा संसद सञ्चालन गरेकी थिइन्।
नेपालले फरक फरक समयका यी दुई तस्वीर यतिबेला एकसाथ किन पोष्ट गरेरु उनले के सन्देश दिन खोजेका हुन्रु राजनीतिक विश्लेषक हरिविनोद अधिकारीले नेपालले दुई तस्वीर एक साथ पोष्ट गरेर तीनवटा सन्देश दिन खोजेको हुन सक्ने बताए।
‘पहिलो त उनले म इतिहासमा म एक प्रमुख भूमिका थिएँ। समय दोहोरिन सक्छ भन्ने सन्देश दिन खोजेका छन्,’ विश्लेषक अधिकारी भन्छन्, ‘दोस्रो, शान्तिप्रक्रियाअन्तर्गत मेरै नेतृत्वमा हतियार ताल्चा लगाइएको हो। तर, संक्रमणकालीन न्यायको विषय अझै टुंगिएको छैन। यसमा सबैजना गम्भीर हुनुपर्छ भन्ने सन्देश देखिन्छ।’ अधिकारीले तेस्रो सन्देश प्रमुख सत्तासझेदार दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीतर्फ केन्द्रित रहेको बताए।
‘पार्टीभित्र एकछत्र प्रभाव रहेका एमाले अध्यक्ष केपी ओली पछिल्लो समय कमजोर हुँदै गएको उनको बुझाइ हुनसक्छ। खासगरी, भीम रावललाई पार्टीबाट निष्कासित गर्ने ओलीको निर्णय र त्यसपछि उत्पन्न ओलीको आलोचनाले उनलाई कमजोर बन्दै गएको देखाएको छ, त्यसैलाई केन्द्रमा राखेर म इतिहासको पनि प्रमुख फ्याक्टर हुँ, भविष्यमा पनि हुन सक्छु भन्ने सन्देश दिन खोजेको हुनुपर्छ।’ अध्यक्ष नेपालको सचिवालयले भने इतिहासमा कसको भूमिका के थियो भन्ने सन्देश दिन दुईवटा फोटो सेयर गरिएको जनाएको छ।
