काठमाडौं, २३ पुस–सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दोस्रो पटक सोधपुछ गरेको छ । मंगलबार सीआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे सोधपुछ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जनाए ।
‘आज दोस्रो पटक उहाँलाई बोलाएर घटना विवरण कागज गराएका छौं । अनुसन्धानमा सहयोग गर्छु भन्नु भएको छ’ बोगटीले भने । साढे १२ बजे सीआईबीको कार्यालयमा पुगेका गुरुङमाथि दिउँसो ५ बजेसम्म सोधपुछ गरिएको थियो । यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङलाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो । मितेरी सहकारीको साढे १४ करोड ८१ लख हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।
त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरु गरेको थियो । यो सहकारी ठगी प्रकरणमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएको छ । तर उनीहरू पक्राउ पर्न सकेका छैनन्।
पूर्व कानूनमन्त्री समेत रहनुभएका धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको दावी गर्दै आएका छन् । तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण तिरेका थिए ।

