काठमाडौँ, २८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी ध्रुवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताउनु भएको छ।
शनिबारदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको बताउनु भएको हो।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनःसक्रिय बनाउँदै जाने बताउनुभयो।
कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढंगले अघि बढाइने बताउँदै उहाँले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा निराश नभई जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।
उहाँले मुलुकमा सुशासन कायम गर्न, राष्ट्रिय समस्या समाधान गर्न, जनजीविकामा सुधारलगायत सकारात्मक परिवर्तन ल्याउन सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो।

