काठमाडौँ, ९ माघ—नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम घर फिर्ता हुने अन्तिम तयारीमा छन् । उनले सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । तर, एमालेले भने गौतमले पाउने ‘सम्मानजनक पद’ बारे टुंगो लागिनसकेको बताएको छ ।
मंगलबार राति अबेरसम्म बसेको केन्द्रीय सचिवालय बैठकमा गौतमलाई पार्टीमा भित्र्याउने विषय अनुमोदन भए पनि उनले पाउने पदबारे भने टुंगो लागेन ।
सचिवालय बैठकले गौतमसँग सहकार्य गर्ने निर्णय गरेको छ । ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ सचिवालयले निर्णय गरेको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हाल गौतमसँग सहकार्य गर्ने निर्णयमात्रै भएको बताए । एमालेमा आउन तीव्र चाहना गरेकाले वामदेवका लागि ढोका खुला राखेको पोखरेलको भनाइ छ ।
‘हाल वामदेवजीसँग सहकार्य गर्ने मात्र निर्णय भएको हो,’ उनले भने, ‘कहिले आउने, के जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन ।’
एमालेको विधानले व्यवस्था गरेअनुरूप पार्टीमा पद व्यवस्था भएको उल्लेख गर्दै पोखरेलले भदौमा हुने विधान महाधिवेशनले मात्र नयाँ पद सिर्जना गर्न सक्ने बताए । ‘विधानअनुसार अहिले नै तुरुन्त पद सिर्जना गर्ने अवस्था हुँदैन,’ उनले भने, ‘विधानले व्यवस्था गरेअनुसार पार्टीमा पद र जिम्मेवारी हुन्छ ।’
एमालेले अर्का पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेलगत्तै अर्का पूर्वउपाध्यक्ष गौतमलाई एमालेमा फर्काउन लागेको गाइँगुइँ पनि चलेको छ । एमालेले कारबाही गरेपछि रावलले ‘मातृभूमि जागरण नेपाल’ गठन गरी अभियान चलाएका छन् । उनले मुख्य गरी एमाले अध्यक्ष ओलीको चर्को आलोचना गर्दै आएका छन् ।
यही सन्दर्भमा ओलीले आफैं वार्ता गरी गौतमलाई पार्टीमा भित्र्याउन खोज्नुको कारणमा ‘एमालेमा जाने र आउने भइरहन्छ’ भन्ने सन्देश दिनु पनि भएको एमालेका एक सचिवालय सदस्यले बताए । ‘एक हिसाबले भन्ने हो भने एमालेले रावलको क्षतिपूर्ति गर्न गौतमलाई फर्काउन लागेको हो,’ उनले भने, ‘गौतमबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष ओली आफैंले लिएका छन् ।’
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरी गौतम एमालेमा फर्कन सहमत भएका हुन् । ओलीले मौखिक रूपमा ‘तपाईं र तपाईंसँग फर्कने साथीहरूले जिम्मेवारी पाउने’ बताएपछि गौतम अलिक हौसिएका पनि छन् । ‘म नमरुन्जेल काम गर्न चाहने व्यक्ति हो । म र अरू साथीहरूले उचित जिम्मेवारी पाउनेचाहिँ पक्का हो,’ उनले ई–कान्तिपुरसँगको कुराकानीमा भनेका थिए ।
एमाले सचिवालयको मंगलबार राति अबेरसम्म बसेको बैठकमा गौतमलाई हतारमा भित्र्याउँदा आउने सम्भावित परिणामबारे पनि बहस भएको एक नेताले बताए । सचिवालय बैठकमा पूर्वएमाले नेताहरूलाई फर्काउने कुरा सकारात्मक भए पनि हतार गर्न नहुने कुरा उठेको उनले बताए ।
‘हतारमा पार्टीमा भित्र्याउँदा त्यसको सम्भावित परिणामबारे नेताहरूले विचार गर्न आग्रह गरेका हुन्,’ एक नेताले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि ‘त्यसो हो भने वामदेवजीसँग कुराकानी गरेर टुंगोमा पुगौं’ भन्नुभयो ।’ अनि सचिवालय बैठकले ‘सहकार्य’ गर्ने शब्दावली प्रयोग गरेको थियो ।
वामदेव निकट नेता डीबी कार्कीले एमालेमा ‘सम्मानजनक’ जिम्मेवारी दिने सहमति भइसकेको बताए । ‘वामदेव गौतमलाई सम्मानजनक पद दिने सहमति भएको छ । तर के पद सिर्जना गर्ने भन्ने केपी ओली र वामदेव गौतमबीच छलफलपछि टुंगो लाग्नेछ ।’
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीबाट एमाले र माओवादी केन्द्रलाई अलग गर्ने फैसला गरेपछि गौतम कतै नलागी अलग बसेका थिए । उनले कम्युनिस्ट एकता अभियान गठन गरी सानो समूहमा रहेका थिए ।
‘बोलाएको दिन एमालेमा प्रवेश गर्ने’ बताएका गौतम नेकपा विभाजनपछि एमाले अध्यक्ष ओलीले चासो नदिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिकिएका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भए पनि अन्तिम समयमा गौतमले ‘कार्यकारी जिम्मेवारी’ मागेपछि एकीकृत समाजवादमा प्रवेशको अभियान रोकिएको थियो ।
पछिल्लो समय ओली र नेपालबीच राजनीतिक ‘दुश्मनी’ कायम रहेका बेला गौतम एमालेतिर ढल्किएका हुन् । ओलीले बेलाबेला नेपालबाहेक अरू नेता एमालेमा फर्किन सक्ने भन्दै गत आमनिर्वाचनमा एमालेलाई पहिलो पार्टी हुन रोकेको एकीकृत समाजवादीलाई कमजोर बनाउने रणनीतिमा छन् । यही मेसोमा उनले गौतमलाई ‘सम्मानजनक’ पद दिने भन्दै एमालेमा भित्र्याउन तयार भएको एक एमाले केन्द्रीय सदस्यले बताए ।
एमालेमा गएपछि गौतमले माओवादीलाई समेत मिलाउने बताएका छन् । यो ओलीलाई समेत अरूचिकर लाग्ने भनाइ हो । तर एमालेमा मिसिँदा थोरै भए पनि राम्रो सन्देश दिन सक्ने भन्दै गौतमका लागि एमालेको ढोका खुला भएको छ । एमालेमा भएका बेला चर्चामा आएका उनी पछिल्लो समय गुमनामजस्तै थिए ।
७७ वर्षीय गौतम एमालेमा प्रवेश गर्दा उनको पुरानो विरासत ब्यूँतिने सम्भावना नभए पनि ठूलो दलको नेताका रूपमा परिचय गराउने धोको हुन सक्छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी सात पटक सांसद भएका उनी तीनपटक त उपप्रधान एवं गृहमन्त्री भइसकेका छन् ।
एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाका दुई अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच चरम शक्ति संघर्ष भएका बेला गौतम दाहाल पक्षमा लागेका थिए । नेपालले पनि दाहाललाई नै साथ दिएका थिए ।
तत्कालीन नेकपा सरकार ९केपी शर्मा ओली मन्त्रिपरिषद्० को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।