काठमाडौँ, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष, प्रतिनिधिसभा सांसद प्रकाश ज्वालाले सरकारका कामकारबाही पश्चगामी भएको टिप्पणी गर्नुभएको छ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले सल्यानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले श्रीनगरमा आयोजना गरेको दोस्रो बृहत् सल्यान महोत्सवका स्टलमा आगलागी हुँदा करोडौँको क्षति भएको भन्दै घटनाको अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदै यतिवेला सरकार उल्टो बाटो हिँडिरहेको दाबी गर्नुभयो।
‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै सरकार उल्टो बाटो हिँडिरहेको छ’, ज्वालाले भन्नुभयो, ‘सरकारको गति पश्चगामी दिशातिर उन्मुख छ।’ उनले गर्नुपर्ने विषयहरू प्राथमिकतामा नराखेको र नगर्नुपर्ने कुराहरू सरकारले गरिरहेको बताउनुभयो।
बाढी र भूकम्प प्रभावितहरूले दोस्रो किस्ताको रकम अहिलेसम्म नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले संसद् छलेर संसद्को मुखमा अध्यादेशबाट शासन गर्न खोजेको ज्वालाको आरोप छ। उहाँले भूमिसम्बन्धी अध्यादेश भूमाफियालाई फाइदा हुनेगरी ल्याएको आरोप लगानुभयो।

