सुरुङ्गा, २८ माघ–झापा गाउँपालिकाले किसानलाई सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवम् कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।
गाउँपालिकाभित्रका सबै वडामा एकैसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो ।
झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि विद्युत महसुलमा ८० प्रतिशत र झापाबासीलाई ५० प्रतिशत विद्युत महसुससमेत गाउँपालिकाले आफैं भुक्तानी गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम सञ्चालित रहेको बताउँदै यस आर्थिक वर्षमा १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको उहाँले बताउनुभयो ।
झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिँदै अगाडि बढेकोसमेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नुभएको छ ।
झापा गाउँपालिका मकै जोन भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखिनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।
थपलियाका अनुसार बोलपत्र मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो । किलस्कर कम्पनीको २ हर्ष पावर को विद्युतीय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरी काम गरिएको थपलियाले बताउनु भयो ।
गाउँपालिकाले कृषकका लागि बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन अनुदान दिइरहेको निर्वाचित अध्यक्ष जयनारायण शाहले बताउनुभयो । गाउँपालिकाले कृषकका लागि मोटर सिञ्चाइमा ८० प्रतिशत र विपन्न घरका लागि ५० युनिटसम्म विद्युत महशुल शुल्क गाउँपालिकाले तिरिदिने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव, ७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर, निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल, कृषक एवम् शिक्षा समिति सदस्य शुन्दरलाल गणेश, कृषक तविजो मिया, कुमार मैनाली लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश कृषि शाखाका समिक्षा उप्रेती पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।
