दुधे, २८ माघ–शिवसताक्षी नगरपालिका–११ दुधेस्थित एक विद्यालयका विद्यार्थीहरुले विद्युतीय मोटरसाइकल बनाएका छन् ।
राष्ट्रिय रमणीय आदर्श माविको कक्षा–९ मा अध्ययनरत् प्रशन्न दवाडी, सन्देश बराल, निशान शंकर र क्याम्ब्रिज अंग्रेजी माविको कक्षा–८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् ।
उनीहरुले बनाएको मोटरसाइलमा पुरानो मोटरसाइकलको चेचिस, पांग्रा लगायतका पार्टपूर्जा प्रयोग गरिएको विद्यार्थी प्रशन्न दवाडीले बताउनुभयो ।
“मोटरसाइकल प्रतिघण्टा ४७ किलोमिटरको गतिसम्म कुदाउन मिल्छ”, उहाँले भन्नुभयो, “ब्याट्रीले चल्ने मोटरलाई इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर मोटरको पावर सन्तुलन मिलाइएको छ ।”
करिब पाँच दिनमा स्थानीय ग्यारेजमा मोटरसाइकल बनाएको उहाँले बताउनुभयो । विद्यार्थी सन्देश बरालले मोटरसाइल फूल चार्ज गर्न दुई घण्टा लाग्ने र सेन्सरसहित रहेको बताउनुभयो ।
मोटरसाइकल निर्माण गर्न शिवसताक्षी नगरपालिकाले प्रोत्साहन स्वरुप रू १७ हजार प्रदान गरेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटित गराउन आर्थिक सहयोग गरिएको बताउनुभयो ।
पूर्वप्रधानाध्यापक कालीप्रसाद रिजालले विद्युतीय मोटरसाइकल बनाउने चार जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप जनही रू पाँच हजार प्रदान गर्नुभएको छ ।
