काठमाडौँ, ६ फागुन–नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको चौथो बैठकले संसद् अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनु भएको छ।

समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको ज्वालाले बताउनुभयो। ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।

बैठकले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरिएको ज्वालाले जानकारी दिनुभयो। पार्टीको स्थायी कमिटी बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *