काठमाडौं, १९ चैत–२०७८ भदौ ८ गते नेकपा (एमाले) विभाजन भयो।

माधवकुमार नेपालसहित एमालेका प्रभावशाली नेताहरूले एकीकृत समाजवादी दर्ता गरे।

एमाले हुँदा नै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तिक्तता फराकिलै थियो।

माओवादी केन्द्र मिसिएर नेकपा बनेपछि केही समय सुलह भएको उनीहरूभित्रको विवाद पुनः बल्झिएर विग्रहको रूप लिएको थियो।

२०७७ पुस ५ गते संसद विघटन गरेपछि नेकपाभित्र कलह झन् चुलियो। अन्ततः नेकपा विघटन नै भयो। एमाले र माओवादी केन्द्र अलगअलग अस्तित्वमा फर्किए।

त्यसपछि पार्टीमा स्थान नपाएका माधव नेपालहरूले अलग्गै पार्टी दर्ता गरेका थिए।

एमाले विभाजनपछि केपी शर्मा ओली र माधवकुमार नेपालबीच राम्रो बोलचाल पनि भएको थिएन।

ओलीलाई एकीकृत समाजवादीको अस्तित्व स्वीकार्नै कठिन भयो।

त्यसो त २०७८ भदौ ८ मा पार्टी विभाजन गरेपछि एमालेले ९ महिना राम्रोसँग संसद चल्न दिएन। सभामुख अग्नि सापकोटाले षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप लगाइरह्यो। सभामुखविरूद्ध सदनमा आवाज गुञ्जाइरह्यो।

पार्टी विभाजनपछि एकार्काविरूद्ध गालीगलौजकै तहमा उत्रिएका नेताहरूबीच सोमबार सौहार्द दृश्य देखियो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय पुगे।

गत चैत १५ गते राजावादीहरूले गरेको तोडफोड अवलोकनको संयोग जुराएर एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर छिरेका ओलीले केहीबेर पुराना सहकर्मीसँग भलाकुसारी गरे। सञ्चो, विसञ्चो सोधे। हार्दिकता साटासाट गरे।

प्रधानमन्त्री ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, एमालेबाट निष्कासनमा परेका भीम रावललगायत नेताहरू एउटै कोठामा सौहार्दपूर्वक बसेको दृश्यले आँखा शीतल गराएको प्रकाश ज्वालाले बताए।

उनले तुरुन्तै पुलकित हुँदै फेसबुकमा फोटो सेयर गरे। र, लेखे–आइसब्रेक१

‘लामो समय संवादहीनतामा रहेका, भेट्दा बोलचालै नहुने नेताहरू एउटै कोठामा बसेको दृश्य रमाइलो थियो। यसले संवाद, सहकार्यको वातावरण बनाएको छ,’ उनले भने, ‘कमल कोइरालालाई श्रद्धाञ्जली दिने मौका पारेर भएको भेट किन नहोस्, यसले राम्रै सन्देश दिएको छ।’

पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपटक एकीकृत समाजवादी कार्यालय पुगेका हुन्।

गत चैत १५ गते राजावादीहरूले एकीकृत समाजवादीको तीनकुनेस्थित पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए। जसबाट ५० लाख रुपैयाँको क्षति भएको एकीकृत समाजवादीले जानकारी दिएको छ।

#सेतोपाटीबाट साभार–२०८१/१२/१९

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *