जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ, २१ चैत–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको दावी गरेका छन्।

आज (बिहीवार) मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो दावी गरेका हुन्। उनले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरे।

उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र बिचौलियाको बिगबिगी रहेको बताए। सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरू व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ।

यादवले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बिते पनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार भयो। सबै क्षेत्रबाट असफल भइसकेको कारणबाट सरकार झन कमजोर भएको छ, भ्रष्टाचार बढिरहेको छ । लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगी छ। जसबाट जनता आक्रोशित छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न तथा राष्ट्रिय समस्याको समाधान गर्न सातदलीय मोर्चा गठन गरिएको उनको दाबी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *