मुस्ताङ, २७ चैत–प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जग्गा ‘रैताने’मा परिणत गरिएको छ।
म्याग्दीका साविक छ वटा गाविसमा रहेको मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन्।
मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिए।
म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उनले जानकारी दिए। त्यसवेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताए।
मुक्तिनाथ मन्दिरमा जाने भक्तजनको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ। संस्थानको ती जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो।
जग्गा भोगचलन गर्दै आइरहेकालाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ। त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उनले जानकारी दिए।
अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ। त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ। यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस-१ ङ को कित्ता नम्बर १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ।
साबिक मुक्तिनाथ गाविस-१ ग को कित्ता नम्बर ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिए।

