प्रदीपकुमार ज्ञवाली

काठमाडौं, २९ चैत–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको तयारीका सम्बन्धमा आज बसेको एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा उनले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बताए ।

उपमहासचिव ज्ञवालीले अहिले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक षडयन्त्रहरू भइरहेको उल्लेख गर्दै उनले राजवादीको नाममा काठमाडौँमा गराइएको घटना त्यसकै उदाहरण भएको बताए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्समा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले’, उनले भने ।

पार्टीको जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसैलाई दृष्टिगत गरी एमालेले युवा केन्द्रित अभियान सुरु गरेको जानकारी दिए । पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य समेत रहेका ढकालले वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन पार्टीका सबै जनसङ्गठनलाई आग्रह गरे । बैठकमा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, जनसङ्गठनका प्रमुखहरूको सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *