दमक, ३० चैत–प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापामा पार्टी संगठन कमजोरहुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीद्वारा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दमकमा आयोजित बृहत जनजागरण सभालाई सम्बोधन गर्दै पार्टीको संगठन खस्कँदो अवस्थामा पुग्नु दुःखद रहेको बताए ।
ओलीले झापा एमालेको उद्गम जिल्ला रहेको अवगत गराए । विगतलाई स्मरण गर्नुहुँदै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफूहरुले निकै कठिन संघर्ष गरेर संगठन बनाउँदै गर्दा स्ववियु गठनको नाममा गिरफ्तार भएको र जेलनेल भोगेको अवगत गराए । आज त्यही ठाउँमा पार्टी कमजोर हुँदै जानु अत्यन्त दुःखदायी र चिन्ताको विषय रहेको ओलीले टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधनकै क्रममा ओलीले पार्टी संगठन खस्कदो अवस्थामा रहेको जनाउँदै आफ्ना कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ संगठनलाई पुनः सुदृढ बनाउन निर्देशनसमेत दिए ।
साथै आफ्ना पार्टीका कमिटीहरूलाई चुस्त बनाउन निर्देशन दिँदै जनवर्गीय संगठनहरूलाई व्यवहारमा प्रभावकारी बनाउन अनुरोधसमेत गरे ।
सम्बोधनकै क्रममा ओलीले कोशी प्रदेशलाई ‘जागरुक प्रदेशको संज्ञा दिँदै यहाँका जनतामा राजनीतिक चेतना उच्च भएपनि त्यसको व्यवहारिक प्रतिफल नदेखिनु खेदजनक रहेको टिप्पणी गरे।
