दाङ, ८ वैशाख–दाङमा एक व्यक्तिले आफैंमाथि गोली चालाएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन्।
आचार्यको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए । ‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले भने, ‘गोली लागेर उनको मृत्यु भएको छ।’
आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो ।
लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
