काठमाडौंँ, १३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारी नेपालको राजनीतिक आन्दोलनका शिखर व्यक्तित्वका रूपमा छ स्मरण गर्नुपर्नेमा जोडदिनुभयो।
आज (शनिबार) अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै राजनीतिमा स्व.अधिकारीको निकै ठूलो योगदान रहेको बताउनु भएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वाम एवं लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा सिङ्गो नेपाली समाजका सम्मानित नेता स्व।मनमोहन अधिकारीको २६औँ स्मृति दिवसको सन्दर्भमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारी नेपालको राजनीतिक आन्दोलनका शिखर व्यक्तित्वका रूपमा रहनुभएको छ। करिब छ दशकको कम्युनिष्ट आन्दोलन, मजदुर आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा मनमोहन अधिकारीले खेल्नुभएको भूमिकाको उल्लेख नगरी नेपालको राजनीतिक इतिहास पूरा हुन सक्दैन। नेपालको बाम–लोकतान्त्रिक आन्दोलनमा उहाँ लोकप्रिय नेता हुनुहुन्थ्यो।
स्वदेश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताउनुभएका अधिकारीको इमान, नेतृत्व र निष्ठा सबैका लागि अनुकरणीय छ। नौ महिना सरकारको नेतृत्व गर्दा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नौ स’को अभियान, ज्येष्ठ नागरिकका लागि भत्ता जस्ता कैयौँ लोकप्रिय कार्यक्रमहरूले कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ। उहाँका आदर्श, सिद्धान्त र मूल्य मान्यता आज पनि हरेक पार्टी सदस्यका निम्ती अनुकरणीय छ ।
स्व.अधिकारीले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दछु।’

