काठमाडौँ, १३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालेले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई अहिलेसम्म पनि हरेक नेपालीले बिर्सन नसकेको बताउनु भएको छ।
२६औँ मनमोहन स्मृति दिवसको अवसरमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अधिकारीको योगदान महत्वपूर्ण र अविस्मरणीय रहेको बताउनुभयो।
सम्मानित नेता खनालले भन्नुभएको छ, ‘उहाँले छोटो समय मात्र सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो। तथापि छोटो समयमा नेपाली राजनीति र समाजलाई दूरगामी प्रभाव पार्ने र सदैव स्मरणमा रहिरहने काम गर्न सफल हुनुभयो। मनमोहन अधिकारीले जीवनभर आफुलाई मुलुक र नेपाली जनताको हक, हितको रक्षामा समर्पित गर्नुभयो।’
अधिकारीले आफ्नो प्रधानमन्त्रीत्व कालमा सुरु गरेको जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमहरु आजसम्म पनि हरेक नेपालीले बिर्सन नसकेको उल्लेख गर्नुभयो।
नेता खनालले भन्नुभएको छ,‘उहाँले नेपाली कम्यूनिष्ट आन्दोलनमा गर्नुभएका योगदानहरु, उहाँले गर्नुभएका अनुकरणीय कामहरु र वहाँका असल गुणहरुबाट हामीले सिक्नुपर्छ। उहाँका योगदानहरूबाट सिङ्गो पार्टीले प्रेरणा लिइरहनुपर्छ।’
स्वर्गीय अधिकारीले उच्च र आदर्शमय कम्युनिष्ट गुणहरुलाई पार्टीमा फैलाउनुपर्छ र एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपालको समाजवादी क्रान्तिलाई सफलीभूत पार्ने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने जनताको संकल्पलाई दुई गुणा बनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको छ।

