काठमाडौँ, १९ वैशाख–नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ गते काठमाडौँमा हुने भएको छ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर महासङ्घका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले देशभरमा ३५ जातीय घटक सङ्घ, सात प्रदेश महासङ्घ र ७० जिल्ला महासङ्घबाट करिब छ सय प्रतिनिधि तथा पर्यवेक्षकको महाधिवेशनमा सहभागिता रहने जानकारी दिनुभयो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नुहुनेछ।
विभिन्न प्रस्तावका साथै राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासङ्घका महासचिव चन्द्र तामाङले बताउनुभयो। काठमाडौँको बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासङ्घले जनाएको छ।
