काठमाडौँ, १९ वैशाख—लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ विमोचन भएको छ । लेखक सिंघकले लेख्नुभएको उपन्यास कोइलाखादको बिहिबार काठमाण्डौंमा विमोचन भएको हो ।

सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा विमोचित उपन्यासमाथि लेखक नयनराज पाण्डे र अध्येता कैलाश राईले टिप्पणी गरे ।

लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनीको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यास धेरैभन्दा धेरै लेखिनुपर्ने धारणा व्यक्त गरे । ‘श्रमिकहरुको कथा वैश्विक विषय हो । यस्ता विषयमा पाठकको सहानुभूति रहन्छ,’ उनले भने । यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुवाद हुनुपर्ने उनको भनाइ थियो ।

अर्का वक्ता कैलाश राईले उपन्यासमा कोइलाखादसम्बन्धी धेरै दस्ताबेज रहेकाले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन् । ‘सानो छँदा बोजुहरुले कुरा गरेको कोइलाखादबारे उपन्यासमा पढ्न पाउनु खुसीको कुरा हो,’ उनले भनिन्, ‘यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनीतिक पक्षलाई साह्रै मिहिन ढंगबाट प्रस्तुत गरेको छ ।’

लेखक सिंघकले व्यावसायीकरण र बजारीकरणको हिसाबले भन्दा पनि दस्ताबेजीकरण होस् भनेर उपन्यास लेखेको प्रस्ट्याए । लगभग पाँच वर्षको अध्ययन र अनुसन्धानबाट तयार पारिएको उपन्यासमा सक्दो मिहिनेत गरेकाले आफू सन्तुष्ट रहेको उनले बताए ।

उपन्याकार सिंघकको यसअघि दलिता र रेमिटल्याण्ड बजारमा आइसकको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *