काठमाडौँ, २० वैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हात्ति जत्रा एमाले कांग्रेसले मुसाको जत्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
शनिबार काठमाडौँमा आयोजित आदिबासी जनजाती महासंघ (समाजवादी( को दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले उक्त टिप्पणी गर्नुभएको हो। साथै उहाँले अहिलेको संविधान पूँजीवादी संविधान भएको टिप्पणी गर्नुभएको छ।
उहाँले भन्नुभयो,‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ। त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छौँ। यो संविधान पूँजीवादी संविधान हो। यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ। यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं।’
साथै, उहाँले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गर्नुभएको थियो।
खनालले अगाडि भन्नुभयो, ‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरू हुन्। चुनाव नै हाम्रो लक्ष्य हुँदैन। तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसदमा गएर पनि हामी यो नौटंकी सरकारको भण्डाफोर गर्नसक्छौँ। र जनताका आवाजहरू त्यहाँ बुलन्द गर्नसक्छौँ। बहुमत ल्यायौँ भने हामी जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ।’

