झापा, २० बैशाख–रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले एघारौं सम्मान तथा पुरस्कार कार्यक्रम अन्तरगत आज उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा एकल महिलाहरुको मानव अधिकारको सुनिश्चितता गरिरहेका संस्था एकल महिला समूह (डब्ल्युएचआर) काठमाडौँलाई राष्ट्रिय आदर्श आमा पुरस्कार, पत्रकारितामा विद्यमान पितृसत्तात्मक शोच तथा लैगिंकताको दृष्टिकोणबाट १५ वर्षको कलिलो उमेरदेखि राजनीतिक बिटको पत्रकारितामा सक्रिय पत्रकार बिनु सुवेदीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारसहित नगध १ लाख १ हजार १११ रुपैयाँ र लैगिंक सामाजिकिकरणका कारण बाल्यकालदेखि नै बालक र बालिकाहरूलाई गरिने विभेद युक्त सामाजिक तथा पारिवारिक व्यवहारमा सन्तुलन ल्याउन सामुदायिक स्तरमा सञ्चालन गरेका सचेतनामूलक अभियानको लागि हेलम्बुकी सदिच्छा पण्डित तथा कलिलै उमेरमा सकारात्मक सोचलाई प्रबर्द्धन गर्दै निबन्ध, कविता, कथा, नाटक र पत्रकारितामा कलम चलाइरहनु भएका नवलपरासीका सर्जक त्रिदेव पौडेललाई १ लाख १ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित व्याक्तित्वहरूलाई सम्मान पत्र र नगदसहित पुरस्कृत गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख अतिथि उपसभामुख रानाले आफूसमेत प्रतिष्ठानको यस गौरादेवी ओली स्मृति पुरस्कारबाट सम्मानित भएको क्षणको स्मरण गर्दे प्रतिष्ठानले समाजमा सकारात्मक अभ्यासको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
पुरस्कार छनौट गर्ने समितिका तर्फबाट पत्रकार शिव गाउँलेले विभिन्न विधामा समाजमा योगदान गरेका सर्जक तथा स्रष्टाहरूको विवरण सङ्कलन तथा छनौटमा अवलम्बन गरेको वस्तुगत मुल्याकंन पद्धतिका आधारहरू सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमा पुरस्कृत डब्लुएचआरकी संस्थापक लिली थापा, पत्रकार बिनु सुवेदी, सदिच्छा पण्डित र त्रिदेव पौडेलले मन्तव्य राख्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीको अध्यक्षतामा भएको थियो ।
यसअघि नै २०८१ सालमा अन्य सामाजिक गतिविधि तर्फ ‘श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार’बाट भारत दार्जीलिङका ७७ वर्षीय साहित्यकार डा।जस योञ्जन प्यासीलाई एकाउन्न हजार एक सय एघार राशि सहित, ‘श्रीप्रसाद–अम्बिकादेवी ओली स्मृति उत्कृष्ट समाजसेवा पुरस्कार’ ओली वंश अक्षय कोष काठमाडौंलाई ४ लाख र झापा जिल्ला बिर्तामोड निवासी उमानाथ ओलीलाई पुरस्कृत गरिएको छ ।
साथै, गत पूसदेखि माघसम्ममा झापा जिल्लाका सामुदायिक विद्यालयहरूका एवम् शारीरिक अशक्तता भएका बालबालिका पढाउने विद्यालयहरू समेतका ५८५ जना बालबालिकाहरूलाई ट्रयाक सूट, स्टेशनरी सामग्रीहरू र विपन्न आर्थिक अवस्थामा रहेका अभिभावकहरू समेतलाई खाद्यान्न सामग्री वितरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओलीले जानकारी दिनुभयो ।
