विराटनगर, २० बैशाख–विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रमकाबीच एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर वुढाथोकीलाई र २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको हो ।

उनीहरुलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गर्नुभयो । भण्डारी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका महासचिव समेत रहनुभएको छ । विगत डेढ दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका भण्डारी राष्ट्रिय समाचार समिति र इमेज टेलिभिजनमा समेत आवद्ध हुनुहुन्छ । पुरस्कृत वुढाथोकी सूचनाको अभियन्ता हुन् भने उहाँ अन्नपूर्ण दैनिकमा आबद्ध हुनुहुन्छ ।

बिराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमती षष्टिका बस्नेतको स्मृतिमा पुरस्कार स्थापनाका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखामा कोष स्थापना गरेका थिए । २०७३ सालमा स्थापित सो कोषको व्याजबाट सूचनाको हकका लागि काम गर्दै आएकाहरुलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका पत्रकार यज्ञ शर्मालाई सम्मान गरेको छ । सम्मानित शर्मालाई मुख्यमन्त्री कार्कीले प्रशंसापत्र प्रदान गर्दै खादा, माल लगाएर सम्मान गरेका थिए । त्यस्तै महासंघ मोरङले तयार पारेको क्यालेण्डर महागर प्रमुख कोइरालाले लोकर्पण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की सहित विशेष अतिथि विराटनगर महानगरपालिकाका प्रमुख कोइराला, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष विक्रम लुइँटेल, लीलावल्लभ घिमिरे, षष्टिका वस्नेत कोषका संरक्षक केदान वस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *