दमक, २१ बैशाख–झापा, दमक–७ बराह टोलमा अष्टचीरञ्जीविको मन्दिर निर्माण गरिएको छ । बराह टोलमा अवस्थित पौडेल वंशोद्धारा केन्द्रिय समिति भवन परिसरमा दाताहरुले १० लाख रुपैयाँ भन्दा बढी खर्चेर अष्टचीरञ्जीवि मन्दिर निर्माण कार्य भएको हो । सो मन्दिर निर्माण सम्पन्न कार्य पुरा भएसंगै पौडेल वंशोद्धारा केन्द्रीय समितिलाई हस्तान्तरण गरिएको छ ।

केही बर्ष अघि हडकङमा भएको अग्नी काण्डमा परेर मृत्यु वरण गरेकी आयुषा निरौलाको स्मृतिमा त्यहाँ उनकी आमा शान्तादिदीले सो मन्दिर निर्माण गरिदिएकी हुन् ।

अष्टचीरञ्जीवि मन्दिरभित्र गणेशको मूर्ति दमक–७ का स्वर्गीय रिवाज पौडेलको स्मृतिमा उनकी हजुरआमा शान्ता पौडेलले प्रदान गरेकी हुन् । सो मन्दिरको पौड्याल वंशोद्धार केन्द्रिय समिति र दमक नगर समितिको संयुक्त आयोजनामा आयोजित कार्यक्रमबीच उदघाटन गरिएको छ ।

बैशाख १५ देखि १७ गतेसम्म बिधिपूर्वक सो मन्दिरको प्राण प्रतिष्ठा गरी उदघाटन गरिएको वंशोद्धार समिति दमकका सचिव हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमै यो अष्टचिरञ्जीविको मन्दिर दोश्रो हो । कोशीमा यस किसिमको अष्टचिरञ्जीवि देवताको मन्दिर विराटनगरमा मात्रै छ ।

सार्वजनिक रुपमा सबैका लागि सधैं खुल्ला राख्ने गरि निर्माण गरिएको यो मन्दिरको उदघाटन पौडेल वंश महासंघका संस्थापक अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यता र दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको विशेष आतिथ्यमा गरिएको छ ।

समितिको जिम्मामा आएको सो मन्दिरको व्यवस्थापन तथा रेखदेख अब पौड्याल वंशोद्धार नगर समितिलेनै गर्नेछ । हिन्दु संस्कार अनुसार हरेक मानिसले आफ्नो जन्मोत्सवमा अष्टचिरञ्जीवि देवताको पूजा आजा गर्ने गर्छन । अष्टचिरञ्जीवि देवताको पूजा गर्नाले दिर्घायु रहने धार्मिक विश्वास छ । यस किसिमको धार्मिक सम्पदा दमकमा रहनु सिंगो दमक नगरका लागि गर्वको बिषय भएको वडाध्यक्ष भिम पौडेल बताउँछन् ।

पौड्याल वंशोद्धार समितिले यस क्षेत्रका हिन्दु धर्मावलम्बीहरुलाई हरेक जन्मोत्सवमा निसंकोच सो मन्दिरमा आएर पूजाआजा गर्न पाउने गरी खुल्ला राखेको छ ।

यो मन्दिरमा कसैमाथि पनि जाति,धार्मिक, लिगंका आधारमा विभेद हँुदैनन् । सबैले सधैं यहाँ आएर आफ्नो इच्छा अनुसार पूजाआजा गर्न, मन्दिर दर्शन गर्न सक्ने वंशोद्धार नगर समिति अध्यक्ष झप्टबहादुर पौडेलले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *