दमक, २३ बैशाख–दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयले आज नगरपालिकाको कार्यालय भवनमा तालाबन्दी गरेको छ ।
सरस्वती माविको नाममा दमक–८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि दमक नगरपालिकाले नहटाएको भन्दै विद्यालयले आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
विद्यालयको नाममा रहेको जग्गामा गडमदर एकेडेमी एण्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ । पटकपटक स्थानीय सरकारलाई लिखीत तथा मौखिक रुपले ध्यानाकर्षण गराउदाँ समेत नगरपलिकाले चासो नदिएकाले बाँध्य भएर नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा तालाबन्दी गर्नुपरेको सरस्वती मावि व्यवस्थापन समितिका अध्यक्ष रेवतराज (गगन) पुरीले जानकारी दिए । विद्यालयले गएको बैशाख ३ गते एक हप्ताभित्र हटाउन भनेर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
गत भदौमा दमक नगरपालिकाले उक्त विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि हटाउने गरी निर्णय गरेको थियो । नगरपालिकाले त्यसपछि पनि विद्यालय हटाउन निर्देशन दिएको सूचना निकाले पनि उक्त विद्यालयले त्यस परिपत्रलाई लत्याउदै आएको थियो ।
नयाँ शैक्षिक सत्रको वैशाख अन्तिम भइसक्दासमेत सो विद्यालयलाई नगरपालिकाले नहटाएपछि बाँध्य भएर हामीले अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको उनको भनाई छ ।
अध्यक्ष पुरीका अनुसार गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन ।
उसले ०७३ सालदेखि नै अनाधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको उनले बताए । तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज प्रभावित हुन पुगेको छ ।
