काठमाडौं, २३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का सल्लाहकार तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पूर्वमन्त्री समेत रहनुभएका नेता प्रदीप नेपाल वामपन्थी आन्दोलनका अगुवा र बौद्धिक नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
नेता नेपालको आज (मंगलबार) दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चारमन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।
उनी नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।
