काठमाडौं, २५ वैशाख–नवराज सुवेदी नेतृत्वको राजावादी समूहले आज (बिहीबार) साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली काङ्ग्रेस ९बिपी०का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी, हिन्दुवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सुवेदी नेतृत्वको राजसंस्था पुर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलनको घोषणा गर्न लागेको र त्यस कार्यक्रममा पार्टी अध्यक्ष थापाको उपस्थिति हुने बताए । उनले कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुने र आन्दोलनको कार्यक्रम शान्तिपूर्ण हुने बताए । लामो कसरतपछि राजावादी शक्तिहरु अन्ततः एक ठाउँ आइपुगेका छन् ।

बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन् । यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन् ।

साझा आन्दोलन गर्नुपर्नेमा सबै सहमत भए तापनि कसले नेतृत्व गर्ने भन्नेमा हानाथाप थियो । अहिले राजावादीलाई एक ठाउँमा ल्याउन ल्याउन निर्मल निवासले पनि भूमिका खेलेको बुझिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *