अनिलदेब राई/बिर्तामोड, २७ वैशाख–नेपालको कम्युनिष्ट पार्टीभित्र चर्चित झापा आन्दोलनका अगुवाहरुमध्येका एक नेता नरेश खरेलसहित १० जना पुराना र अग्रज नेताहरुलाई आज सम्मान गरिएको छ । २०७९ चैत २७ गते तत्कालिन नेकपा (एमाले) केन्द्रीय सल्लाहकार सदस्यबाट राजिनामा दिएका नेता खरेलसहित झापाली बामपन्थी आन्दोलनका अगुवा नेताहरुलाई बिर्तामोडमा आयोजित नेकपा (एकीकृत समाजवादी) झापाको १०औँ जिल्ला अधिवेशनमा सम्मान गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले खरेलसहित दमक नगपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकी, पूर्वसांसद नारायणसिह राजबंशी, जनार्दन उप्रेती, देवी बराल, काँकडिभिट्टा निवासी प्रगतिशिल साहित्यकार पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रूचाल र पुन्य नेपाललाई समारोहमा सम्मान गर्नुभएको हो।
लामो समय एमालेको केन्द्रीय नेतृत्व तहमा बसेर काम गरिसकेका खरेल सत्र वर्ष लामो बन्दी जीवन बिताईसकेका झापाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन्। खरेलले पञ्चायतकालिन समयमा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा लामोसमय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।
सम्मान ग्रहणपछि समारोहमा नेता खरेलले नेपाली कम्युनिस्ट आन्दोलनको मोडालिटी कमजोर बन्दै गएको चिन्ता व्यक्त गर्नुभयो। खरेलले केही वर्षयता कम्युनिस्ट पार्टीको नाममा घिनलाग्दो खेल भइरहेको उल्लेख गर्नुभयो । पार्टी भित्र देखिएका अराजकता, नेताहरुका खराब चरित्र र गतिविधिहरुले एमालेमा रहिरहने अवस्था नभएपछि एमाले परित्याग गर्नुपरेको दुखेसो व्यक्त गर्नभयो । नेता खरेलले जिन्दगीको उर्वर समय बामप्रन्थी आन्दोलनमै समर्पण गरेको कथन गर्नुहुदै नेपालको समाजवाद आन्दोलनलाई नेतृत्व गर्ने हिम्मत अझै रहेको बताउनुभयो।
आज (शनिबार) बिर्तामोडस्थित इन्द्रेणी ब्याङकेटमा सुरु भएको अधिवेशन (भोली) आइतबार सम्पन्न हुनेछ। अधिवेशनको उदघाटन समारोहमा सम्मानित नेता झलनाथ खनालसहित उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव राजेन्द्र राई, सचिव बलदेव चौधरी, कोशी प्रदेश अध्यक्ष सरिता खड्का, एकीकृत समाजवादी झापाका इन्चार्ज पुष्पराज पोख्रेल, पोलिटब्युरो सदस्य अशेष घिमिरे, महेश रेग्मी, दुर्गा परिवारलगायतले सम्बोधन गर्नुभएको थियो।
जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा उद्घाटन गरिएको अधिवेशनमा उपाध्यक्ष प्रत्युस रानाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सचिव बिपि भट्टराई र तीर्थ सिग्देलले सञ्चालन गर्नुभएको थियो। अधिवेशनमा ४ सय बढी प्रतिनिधिहरु सहभागी छन्। आईतबार बन्द सत्रले आगामी नेतृत्व चयन गर्नेछ।
