दमक, ८ जेठ–सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेड क्वाटर झापाले १८औं स्थापना दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सप्रनामनि कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो ।
समारोहमा प्रमुख अतिथिसहित अन्य अतिथिहरुले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा कर्तव्य पालनको सिलसिलामा दिवंगत भएका स्व। सोम बहादुर तामाङ्गको परिवारलाई विशेष सम्मान तथा एकाउन्न हजार नगद समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैशाख महिनामा उत्कृष्ट हुने मासिक जवान लगायत अन्य क्रियाकलाप तथा खेल बिधामा प्रथमहुने कमर्चारीहरुलाई सम्मानसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि बाहिनीपति कुमार न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा समेत जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनले बताए ।
विपद्का समयमा होस् वा विपद् पूर्व तयारी जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी परिचालन चुस्त हुनुका साथै अग्रिणी भूमिका निर्वाह गर्दै आइरहेको र समुदायस्तरमा डिजास्टर भोलेयन्टियर तथा समुदाय विपद् सूचक तयार गर्न स्थानीय पालिकालाई समेत सहयोगका लागि उनले अपिल गरे ।
कार्यक्रममा सप्रबल, नेपाल नं। २ गण हेक्वा झापाका गणपति सप्रउ तुलबहादुर भण्डारीले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप झापाका चार स्थानमा खनेपानी व्यवस्थापन, धार्मिक तथा पर्यटकीयस्थल सरसफाई तथा सरसफाई जन्य सामग्री वितरण, सीमाबासी लक्षित २० जना स्थानीय युवाहरुलाई सीपमूलक इलेक्ट्रिसियन तालिम सञ्चालन, सीमा इलाकामा बसोबास गर्ने अतिविपन्न परीवारकी बुवाआमा गुमाएकी गौरीया प्राविमा अध्ययनरत वर्ष १० की छात्रा रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कुल सप्तरीमा कक्षा–१२ सम्म अध्ययन छात्रावृति प्रदान, मेचीनगर र गौरीगञ्ज गरी २ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको र यस्ता कार्यक्रमहरु अझ प्रभावकारी ढंगबाट गर्दै लैजाने समेत प्रतिवद्धता गर्नुभयो ।
सशस्त्र प्रहरीले चालु आव २०८१–०८२ को साउनले १ गतेबाट जेष्ठ ७ गते सम्म १० करोड ८० लाख ६४ हजार ६ सय ६४ रुपैयाँ बराबरको अवैध समान बरामद गरी सम्बन्धित निकायहरमा दाखिला गरिसकेको समेत भण्डारीले जानकारी दिए ।