दमक, १५ जेठ–झापाको पाडाजुँङ्गी चौक दक्षिणमा रहेको मंगलबारे बजारमा सगुन पार्कसहित भलिबल खेलाडी अंकित पूर्णकदको प्रतिमा (स्तम्भ) निर्माण गरिएको छ ।
दुई दशकदेखि निरन्तर राष्ट्रियस्तरका भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको सगुन युवा क्लबले भलिबल खेलको विकास, प्रवद्र्धन र व्यवसायिकता गर्ने उदेश्यसहित अमुक खेलाडी अंकित प्रतिमा निर्माण गरिएको हो । कमल गाउँपालिका वडा नम्बर ५ मंगलबारेस्थित प्रतिमास्थलमा आज (विहिबार) विहान एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख हुकुमसिंह राईले अनाबरण गर्नुभएको छ ।
पार्कसहितको प्रतिमा अनाबरणपछि प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका प्रमुख राईले स्थानीयस्तरमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्नु र त्यसलाई सम्पन्न गर्न निकै चुनौती हुँदाँहुँदै सगुन युवा क्लबले मंगलबारेमा ठूलाठुला भलिबल प्रतियोगिता गर्दै आएको बताउनुभयो । सगुन युवा क्लबका पूर्व अध्यक्ष समेत रहनुभएको गाउँपालिका प्रमुख राईले मंगलबारेमा नवनिर्मित प्रतिमाले समग्र भलिबल खेल र खेलाडीको मान–प्रतिष्ठा हुनेमा जोड दिनुभयो ।
२०५२ सालबाट सगुन क्लबले मंगलबारे बजारमा भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ । सोही क्लबले भलिबल खेलको विकास, प्रवद्र्धन र व्यवसायिकता गर्न भलिबल खेलाडीको प्रतिमा निर्माण गरिएको अध्यक्ष देबेन्द्रराज आङदम्बेले बताउनुभयो ।
अध्यक्ष आङ्दम्बेका अनुसार स्वदेश तथा विदेशमा बस्दैआएका सहयोगी व्यक्ति, संघसंस्थाहरुबाट सहयोग जुटाएर प्रतिमा निर्माण गरिएको हो । प्रतिमासहित सगुन पार्क समेत निर्माण गरिएको छ । दाताहरुको उत्साहजनक सहभागिताका कारण प्रतिमासहित पार्क र घेराबारा गरिएको र त्यसभित्र रात्रीकालिन समयमा आर्कषक बनाउन रङ्गरोगन र बिजुलीबक्ति जडान गरिएको अध्यक्ष आङ्दम्बेले सो अवसरमा जानकारी गराउनुभयो ।
अनाबरण कार्यक्रममा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य बिष्णु सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सभापति केदार चापागाईं, मंगलमय टोल बिकास संस्थाका अध्यक्ष गणेश प्रधान, शान्त जीवन प्रतिष्ठान, पूर्णिमा महिला समूह, सगुन वाल क्लव, हाम्रो भरोसा महिला समूह, स्थानीय आमा समूहलगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।
सोहि अवसरमा क्लवले मंगलबारे बजार चौकदेखि उत्तरतर्फ पाडाजुङ्गी चौकसम्मको सडकको डिभाइडरलाई सरफाई गरिएको थियो डिभाइडरमा रोपिएका फलफूल, विरुवाकोलाई गोडमेल गर्नुका साथै बजार सरसफाइ गरिएको क्लबका सचिव एबम् पूर्व भलिबल खेलाडी रोशन दाहालले जानकारी दिनुभयो ।
