सुदन किराती

काठमाडौँ, ३० जेठ–नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले नेपालका दलहरूको बोली र व्यवहारको तादम्यता नमिलेको बताएका छन्।

आज (शुक्रवार) आदिवासी जनजाति प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट भन्ने दलहरूले लेनिनको कुरा गरेर व्यवहार भने स्टालिनको गर्ने गरेको बताए।

‘विचार आयातित भयो। संस्कृति हिन्दु धर्मशास्त्र गीतामा आधारित मार्गदर्शन भयो। कम्युनिष्टहरूको विचार रसिया अर्थात विदेशबाट आयात भयो’, उनले भने, ‘अक्सर हामी सँधै लेनिनको फोटो राख्छौँ र लेनिनकै कुरा गर्छौँ तर व्यवहार स्टालिनको गर्छौँ।’

नेता किरातीले वीपीको देहान्तपछि कांग्रेसमा पनि विचलन आएको टिप्पणी गरे। ‘कांग्रेसले युरोप हुँदै भारतको बाटोबाट बोकेर लोकतन्त्र ल्याएर आयो। विपी बाँचुञ्जेल त सापेक्षताको केही अभ्यास हुन खोज्यो तर विपीको देहान्तपछि त्यो विचारको बन्ध्याकरण भयो’, उनले भने, ‘नेपाली माटोलाई सुहाउने नेपाली सापेक्षताको विचार निर्माण हुन सकेन।’

संस्कृतिमा गीताको मार्गदर्शन भएकाले त्यसमा जस्तै राजनीतिमा पनि सामूहिक ज्ञानको अभ्यास नभएको बुझाइ नेता किरातीको छ।

‘संस्कृतिमा गीताको मार्गदर्शन भयो। जहाँ सामूहिक ज्ञानको अभ्यास हुँदैन। एउटा महापुरुषले ब्रमाण्ड हाँक्न सक्छ भन्ने कथा छ’, उनले भने, ‘त्यही भएर हामी नायकको खोजी गर्छौँ। जादु जस्तै चमत्कार चाहन्छौँ। नेताहरूले पनि आफूलाई कृष्ण जस्तै भन्ठान्छन्।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *