दमक, ३० जेठ–दमक तेक्वान्दो दोजाङले आज एक कार्यक्रमबीच राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता खेलाडी सम्मान, विपन्न खेलाडीलाई पोशाक वितरण र प्रतियोगितामा जाने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

शुक्रबार, साँझ हरिओम कालनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजक, पूर्व फुटबल खेलाडी एबम् दमक फुटबल एकाडेमीका अध्यक्ष गजु देवानको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालका अनुसार हालैसम्पन्न कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङबाट सहभागि खेलाडी देन्सु योगीले रजत पदक ल्याउन सफल भएकी थिइन् । जेठ २४–२६ गतेसम्म बिरातनगरमा आयोजित १५औं राष्ट्रपति रनिङ शिल्डमा दमककी योगीले सहभागिता जनाएकी थिइन् ।

सो प्रतियोगितमा योगी (४५ केजीमा) ले रजत पदक जित्न सफल भएकी थिइन् । उनलाई दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजक देवान र अध्यक्ष धिमालले खादा ओढाएर मायाको चीनोसहित नगद प्रदान गर्नुभएको थियो ।

त्यस्तैं, दमक तेक्वान्दो डोजाङका अनुशासित तथा कुशल खेलाडीहरु रेशु धिमाल, अर्पण धिमाल र आशिष धिमाललाई विद्यालय पोशाक वितरण गरिएको थियो । तीनैजना धिमालहरुलाई सो पोशाक सल्लाहकार संयोजक देवानले उपलब्ध गराउनुभएको हो ।

सोही कार्यक्रममा देवानले भोली (शनिबार) कनकाई नगरपालिकाले सुरुङ्गा बजारमा आयोजना गर्ने प्रथम तेक्वान्दो प्रतियोगितामा सहभागि २२ जना खेलाडीहरुलाई बिदाई गर्नुभएको छ । उनीहरुलाई दमकदेखि सुरुङ्गासम्मको यातायात र खाजा खर्च वापत नगदसमेत प्रदान गर्नुभएको छ ।

बिदाई कार्यक्रममा डोजाङका अध्यक्ष धिमाल र सल्लाहकार संयोजक देवानले खेल जित्नुको लागि भएपनि खेलाडीले अनुशासनलाई मुख्य पालना गर्नुपर्ने र खेल कौशलता प्रर्दशन गर्नुपर्नेमा जोड दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *