शिवसताक्षी, १८ असार–शिवसताक्षी नगरपालिकाका सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरिएको छ ।

नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घ सेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट हुने छात्रछात्रालाई सम्मान गरेको हो ।

सामुदायिक विद्यालयमा २५ वर्ष निरन्तर सेवामा रहेका २३ जना शिक्षकहरूलाई सम्मान गरिएको छ । त्यसैगरी, सेवा निवृत्त ११ जना शिक्षकहरूलाई अवकाशपछि सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै, २०८० सालमा कक्षा ८, एसईई र १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्र्थीहरूलाई नगद र सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत छविलाल ढकालले जानकारी दिनुभयो । नगरपालिकाले १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म पुगेर पदक जित्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षाको गुणस्तर र बृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समितिको अहम भूमिका रहने बताउनु भयो । नगरपालिकाले शिक्षा नीति लगायत आधारभूत कुराहरु व्यवस्थापन गर्ने र अन्य काम विद्यालयकोसँग जोडिएका व्यक्ति वा निकायहरुले गर्न सके प्रभावकारी हुने उहाँको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा सामुदायिक विद्यालयहरूमध्ये कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने बालसेवा आधारभूत विद्यालय र त्यसका प्रधानाध्यापक बेनुप्रसाद कार्की तथा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र त्यसका प्रधानाध्यापक गिरिराज सेर्मा सम्मानित भएका थिए ।

१५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संस्थागततर्फ प्रथम हुने सेभेनसिज माध्यमिक विद्यालय र सामुदायिकतर्फ प्रथम स्थान हासिल गर्ने लालपानी माध्यमिक विद्यालयलाई समेत सम्मान गरिएको थियो। विद्यालयलाई उत्कृष्ट बनाउन कार्य गर्ने महिला प्रधानाध्यापकका रूपमा श्रीजंग प्राथमिक विद्यालयका प्रधानाध्यापक अन्जूकुमारी गौलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, नेपाल शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की, सम्मानित शिक्षकहरुको तर्फबाट श्रीप्रसाद खरेलले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यपालिका सदस्य यसोदा विमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमल भट्टराई गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *