दमक, २३ असार–दमकका अग्रज व्यवसायी गोकुल श्रेष्ठको नेतृत्वमा कोशी प्रदेश टेनिस संघ गठन भएको छ । कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद बिकास बोर्ड बोर्डले श्रेष्ठको संयोजक रहने गरि प्रदेशमा पहिलो पटक टेनिस संघ गठन गरेको हो ।
२२ असारको सदस्य सचिवस्तरीय निर्णय अनुसार श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय प्रदेश टेनिस संघ गठन गरिएको हो । श्रेष्ठ दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् ।
संघका सदस्य सचिव कृष्ण बस्नेतका अनुसार संयोजक श्रेष्ठको नेतृत्वमा गठन भएको टेनिस संघमा प्रतापसिंह कार्की (मोरङ), किरण लामा (मोरङ), मो.वसिम अख्तर (सुनसरी), सुवास आङथुपो (इलाम), रोशन ढकाल (झापा), सुवासचन्द्र गड्तौला (पाँचथर), मुकेश मित्रुका (झापा), निराशव प्रधान (झापा), रेशु तामाङ (सुनसरी) र विशाल श्रेष्ठ (सुनसरी) रहेका छन् ।
यसैवीच, नवनियुक्त श्रेष्ठले प्रदेशमा टेनिस खेलको प्रवद्र्धनात्मक विकासमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले आफूलाई दिएको जिम्मेवारी सधै इमान्दारिताका साथ पूरा गर्न लाग्ने उनको भनाई छ ।
