मोरङ, २७ असार–मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका छन् ।

शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन् । नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन गाउँसभामा प्रस्तुत गरिएको भन्ने विषयमा प्रश्न उठाएका वडानम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीमाथि अध्यक्ष माझीले आदेश जारी गरेका थिए ।

आदेशमा भनिएको छ, ’२०८२ असार २७ गते ग्रामथान गाउँपालिकाको १७औँ गाउँसभाको तेस्रो बैठकमा दुवै वडाध्यक्षले अनुशासन भंग गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने र सभाको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेका कारण, गाउँसभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६९४० अनुसार सात दिनका लागि बैठकमा निषेध गरिएको हो ।’

पछिल्लो मंसिरमा माओवादी केन्द्रबाट निर्वाचित भएका अध्यक्ष माझीले प्रमुख प्रतिपक्षी दल एमालेका वडाध्यक्षहरूलाई कारबाही गरेका हुन् । आफूहरूले सामान्य प्रश्न मात्र गरेकोमा बदनियतपूर्ण रूपमा कारबाही गरिएको भन्दै निषेधमा परेका वडाध्यक्षहरूले कानुनी उपचार खोज्ने जनाएका छन् ।

यो पहिलो विवाद भने होइन । अध्यक्ष माझी यसअघि पनि उपाध्यक्ष गुणवती थारुसहित एमाले निकट जनप्रतिनिधिको गाडी खोस्ने, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्ने र कार्यपालिका बैठकमा कोरम नपुर्याइ निर्णय गर्नेजस्ता विवादास्पद निर्णयका कारण चर्चामा आएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *