झलनाथ खनाल

काठमाडौँ, २७ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माणको प्रक्रिया सुरु भएपछि नेपालसँगको सम्बन्धले नयाँ र बहुआयामिक उचाइ प्राप्त गरेको बताउनु भएको छ।

चीन भ्रमणमा रहेका खनालले विश्व सभ्यता संवादमा प्रमुख वक्ताको सम्बोधन गर्दै चीन निकटतम छिमेकी मात्र होइन, घनिष्ठतम मित्र बनेको बताउनु भएको छ। उहाँँले भन्नुभयो, ‘हामी एक अर्काका विश्वसनीय सहयोगी बनेका छौँ। विकास र समृद्धिका लागि भरपर्दा साझेदार बनेका छौँ। हामीले ठुलो र सानो देशबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमुना प्रस्तुत गरेका छौँ। हाम्रा सिमानाहरू शान्तिका सिमाना बनेका छन्। नेपाल एक(चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध र अडिग छ।’

उहाँले नेपाल ताइवान र तिब्बत चीनका अविभाज्य अङ्ग हुन् भन्ने कुरामा दृढ रहेको बताउनुभयो। सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘हामी नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्‍याउन चाहन्छौँ। हामी नेपाली र चिनियाँ दाजुभाइ–दिदीबहिनी हौँ। हामी हाम्रो सम्बन्धलाई चिर पर्यन्तकालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौँ।’

उहाँले सबै एकजुट भएर सभ्यताहरूको विविधताको सम्मान, आपसी संवाद र सहकार्यलाई प्रवर्द्धन र शान्ति, विकास, समानता तथा स्वतन्त्रता जस्ता मानवताका साझा मूल्यहरूमा आधारित एक समुन्नत विश्व एवं साझा भविष्य निर्माणका लागि हातेमालो गर्न आह्वान गर्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *