काठमाडौँ, २८ असार–नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताउनु भएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अध्यक्षविरुद्धको अभिव्यक्तिले झाँक्रीलाई नै नोक्सानी गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो,‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ। जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन। माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ। उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन्।’
सचिव पाण्डेले अगाडि भन्नुभयो, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेरसमेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न। हामी सचिवालय बैठक बस्यौँ। छलफल गर्यौँ। यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्याउने गरी र भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ। उहाँले कुन खालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भरपर्छ। जवाफपछि मात्रै यसको टुङ्गो लाग्छ।’
