दमक, २८ असार–झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी बुहारी गंगादेवी न्यौपानेले रिवन काटेर अस्पतालको उद्घाटन गर्नुभएको हो । सोही अवसरमा ओलीले भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको भवनको शिलालेख अनावरण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नै अस्पताल भवन पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि रिबन काट्ने बेलामा उहाँले भागिरथा न्यौपानेका परिवारका सदस्यहरु खोज्नुभयो ।

दर्शक दीर्घामा रहेका कुलप्रसाद न्यौपाने र गंगादेवी न्यौपाने जानुभएपछि प्रधानमन्त्री ओलीले न्यौपानेद्वयको हातबाट रिबन काट्न लगाएर अस्पताल भवनको उद्घाटन भयो ।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको आज विधिवत उद्घाटन गरिएको हो।

अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करोडौं मूल्य बराबरको जमिन अस्पताल निर्माणलाई दान गरेपछि भागिरथा मात्र नभएर आफ्नै प्रस्तावमा अस्पतालको नाममा ‘भागिरथा न्यौपाने’ जोडिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भागिरथा न्यौपानेलाई मैले राम्ररी चिनेको हुँ। मैले राजनीति नबुझ्दै उहाँ राजनीतिज्ञ हुनुहुन्थ्यो। पहिलो महिला प्रधानपञ्च हुनुहुन्थ्यो। जनताको सेवक हुनुहुन्थ्यो। त्यसैले उहाँको आधा नामबाट होइन पूरा नाम अस्पतालको नाममा समावेश हुनुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ।’

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ। अस्पतालले बीमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ।

अस्पतालको स्तरोन्नति र पहिलो तला निर्माणका लागि संघीय सरकारलाई पालिका अध्यक्ष मनोज प्रसाईंले माग पत्र पनि बुझाउनु भएको छ । उहाँले आफ्नो सम्बोधनका क्रममा अस्पताल स्थापना कालदेखि अहिलेसम्मका प्रगति सुनाउनु भयो ।

जवाफमा प्रधानमन्त्री ओलीले संघीय सरकारका तर्फबाट सकेसम्म सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *