झापा, ३ साउन–झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा नगरपालिका–६ का बिनोद घिमिरेलाई पक्राउ गरेको छ। उनीसँगै यामाहा कम्पनीको मोटरसाइकल ९प्र। १–०१–०१३ प ८९०४० र दुई वटा मोबाइल फोन समेत बरामद गरिएको छ।

अनुसन्धानबाट लागूऔषध कारोबारका मुख्य संचालक बिर्तामोडस्थित सनलाईट फर्माका सञ्चालक भानुभक्त खरेल रहेको खुलेको छ। हाल उनी फरार छन् भने पक्राउ परेका घिमिरे खरेलका नजिकका सहयोगी हुन्।

प्रहरीका अनुसार बरामद लागूऔषधमध्ये २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल छन्। यसमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १ लाख ३ हजार ८००, डाइक्लोमाइन एचसिएल ९७ हजार, जेनेग्रा रेड ८ हजार ९००, टेर्म्पिल किट्स ७ हजार ६५० ट्याब्लेट र ट्रामाडोल इन्जेक्सन १ हजार ८७० एम्पुल समावेश छन्।

झापा प्रहरीले यो बरामदलाई हालसम्मकै ठूलो परिमाणको लागूऔषध बरामदका रूपमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले लागूऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि यो सफलता उल्लेखनीय भएको बताउनुभयो।

प्रहरीले फरार रहेका मुख्य अभियुक्त भानुभक्त खरेलको खोजी तीव्र पारिएको जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *