काठमाडौं, ८ साउन–नेकपा एमालेको नेतृत्वशैली, वैचारिक विचलन र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेता डा भीम रावल अब नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा लागेका छन् । एमाले छाडेर केहीसमय निष्क्रिय जस्तै बनेका वरिष्ठ नेता वामदेव गौतम समाजवादी पार्टीमा प्रवेश गरेसँगै रावल पनि उक्त धारमा लाग्ने संकेत देखिएको हो।
नेता भीम रावल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच हालै राजधानीमा भएको गोप्य छलफलले राजनीतिक वृत्तमा चर्चा पाएको छ। उक्त छलफल केही घण्टासम्म चल्यो र पार्टी प्रवेशको विषयमा गम्भीर छलफल भयोु स्रोतले बतायो । समावेशी राजनीति, विचारधाराको स्पष्टता र कार्यकर्ताप्रतिको सम्मानजस्ता विषयमा पनि चर्चा भएको जनाइएको छ।
केही हप्ता अघि एमालेका अर्का वरिष्ठ नेता वामदेव गौतम पनि पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए। गौतमले ‘विचार, संगठन र राजनीतिक संस्कारमा अधोपतन भइसकेको एमालेमा सुधार सम्भव छैन’ भन्दै समाजवादी धार रोजेका थिए। उनीसँगै विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरू पनि समाजवादीमा गएका छन्।
भीम रावलको सम्भावित आगमनलाई पनि यसैको निरन्तरता मानिएको छ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वैचारिक निष्ठामा जोड दिँदै पार्टी विस्तारको अभियान चलाइरहेका छन्। एकतामा भन्दा ‘सिद्धान्तमा निष्ठा’लाई पहिलो प्राथमिकतामा राख्ने नेपालको राजनीतिक यात्रामा रावलजस्तो वैचारिक नेता थपिँदा पार्टीलाई गहिरो वैचारिक धरातल मिल्ने विश्वास गरिएको छ।
डा. भीम रावल २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधि सभामा पहिलोपटक निर्वाचित भएका नेता हुन्। झलनाथ खनाल नेतृत्वको सरकारमा कानुन तथा संसदीय मामिलामन्त्री, माधव नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री तथा केपी ओली नेतृत्वको पहिलो सरकारमा उर्जा मन्त्रीसमेत भइसकेका रावल पार्टीभित्र गम्भीर विचारक र संगठनकर्ता नेताका रूपमा चिनिन्छन्।
तर, २०७८ सालमा एमालेमा देखिएको गहिरो अन्तरविरोध, एकल नेतृत्व र विचारहीन सत्ताकै पछि लागेको प्रवृत्तिले उनलाई पार्टीभित्रै असन्तुष्ट बनायो। उनले बारम्बार एमाले नेतृत्वको आलोचना गर्दै वैचारिक स्पष्टता, कार्यकर्ताको सशक्तीकरण र संगठनात्मक पारदर्शिताको माग गर्दै आएका छन्।
अध्यक्ष केपी शर्मा ओलीसँगको लामो समयको टकरावपछि रावल पार्टीभित्र अझै पनि अलग्गिएको भावनासहित देखिन्थे। यद्यपि, उनले औपचारिक रूपमा एमाले त्यागको घोषणा नगरे पनि पार्टी बैठकहरूमा उनको सहभागिता घटेको र सार्वजनिक कार्यक्रमहरूमा निष्क्रियता बढेको देखिँदै आएको थियो।
भीम रावलको समाजवादी प्रवेश औपचारिक घोषणा हुन समय लाग्न सक्छ। तर उनले माधव नेपालसँग गरेको गोप्य छलफल, एमालेप्रतिको बढ्दो असन्तुष्टि र समान वैचारिक धरातलले अब उनी समाजवादी धारमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

