झापा, १६ साउन–आज साउन १६ गते। नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदैछ। कोदोजन्य बालीको उत्पादन तथा उत्पादकत्व बढाउन, साना किसानको आयआर्जन सुधार गर्न र खाद्य–पोषण सुरक्षाको लक्ष्यसहित दिवस मनाउन लागिएको हो।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन भई ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ।

सञ्जेलका अनुसार दिवस जलवायु परिवर्तन न्यूनीकरण, जैविक विविधता संरक्षण र दिगो खाद्य प्रणाली निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ। विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब रु ७६ करोड ६३ लाख बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ।

दिवसका अवसरमा चाँगुनारायण नगरपालिकाको ताथलीमा कोदो रोपाइँ कार्यक्रमसँगै कृषक, पत्रकार, तथा किसान समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। प्रदेश तथा स्थानीय तहहरूबाट पनि विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सञ्जेलले रासायनिक मल र विषादीको प्रयोग नगरी पनि औसत उत्पादन सम्भव भएको र हरित ग्यास उत्सर्जन न्यूनीकरणमा कोदोजन्य बाली उपयोगी हुने बताए। विभागले दिवसका सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *